काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले तिहार तथा छठपछिको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कामको विवरण सार्वजनिक गरेको छ।
सरकारले भारतसँगको आर्थिक सहकार्य विस्तार, जलविद्युत् आयोजना विकास, सार्वजनिक खरिद प्रणालीमा सुधार, सूचना प्रविधिमा विदेशी लगानी आकर्षित गर्ने तयारी, विपद् व्यवस्थापन र सरकारी सम्पत्तिको संरक्षणलाई यस अवधिका प्रमुख कार्यसम्पादनका रूपमा प्रस्तुत गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणदेखि तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनेसम्मका काम भएका छन्।
विपद् उद्धार कोषमा १८ अर्ब ६२ करोड रुपैयाँ
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशनसमेत दिइएको सरकारले जनाएको छ।
यसैगरी, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
तल्लो अरुणको पहिलो प्याकेजमा ११ अर्ब ४९ करोड भारुको ठेक्का
ऊर्जा क्षेत्रतर्फ सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।
सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको उक्त आयोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको थियो। प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते सम्पन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए।
सरकारका अनुसार आयोजनाको पहिलो प्याकेज निर्माणका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको छ।
विदेशी आईटी कम्पनीलाई लगानीमा सहजीकरण गर्ने तयारी
नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले सरकारले विशेष लगानी सहजीकरण नीति निर्माण प्रक्रिया अघि बढाएको छ।
यसअन्तर्गत विदेशी प्रविधि कम्पनीलाई नेपालमा लगानी तथा व्यवसाय सञ्चालन गर्न द्रुतमार्गबाट स्वीकृति दिने व्यवस्था तयार गर्न लागिएको छ।
सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, प्रविधिमा आधारित व्यवसाय विस्तार गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय आईटी सेवा प्रदायक मुलुकका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ।
त्यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट सुझाव संकलन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशालासमेत सम्पन्न गरेको छ।
नयाँ ई–जीपी प्रणालीमा एक महिनामै १ हजार ४५२ बोलपत्रदाता
सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ।
सरकारका अनुसार कात्तिक महिनामा मात्रै उक्त प्रणालीमा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।
निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विभिन्न विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ।
यसै अवधिमा सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ। सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुने चारवटा मानक बोलपत्र तथा अन्य खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेशसमेत दिइएको छ।
नेपाल ट्रष्टको १५ हजार रोपनी जग्गाको स्थलगत अनुगमन
सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको संरक्षण र व्यावसायिक उपयोगका लागि पनि प्रक्रिया अघि बढाएको छ।
यसक्रममा धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रफलको जग्गामा स्थलगत अनुगमन गरिएको छ। उक्त सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना अध्ययन गर्नुका साथै ट्रष्टको सम्पत्ति दिगो रूपमा उपयोग गर्न लिजसम्बन्धी नियमावली तयार पार्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
आयोजना र बजेटमा दोहोरोपना हटाउने प्रयास
संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ।
तीनै तहका सरकारबाट सञ्चालन हुने आयोजनामा देखिएको दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ।
त्यस्तै, सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।
सरकारी कार्यालयको सेवा प्रवाह अनुगमन
सार्वजनिक निकायमा कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको सरकारले जनाएको छ।
सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली खटाइएको छ।
यसैगरी, सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। लामो समयदेखि अवरुद्ध रहेको सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणालीसमेत आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।
नीति निर्माण र कार्यान्वयनको नतिजा हेर्न बाँकी
सरकारले सार्वजनिक गरेको कार्यसम्पादन विवरणमा केही काम प्रत्यक्ष रूपमा कार्यान्वयनमा गएको देखिए पनि धेरै कार्यक्रम अझै अध्ययन, नीतिगत तयारी, मस्यौदा निर्माण र अन्तरनिकाय समन्वयकै चरणमा रहेका छन्।
विशेषगरी विदेशी प्रविधि कम्पनीलाई लगानीमा सहजीकरण गर्ने नीति, नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन, तीन तहका सरकारका योजना तथा बजेटमा दोहोरोपना हटाउने अध्ययन र जेनजी परिषद् गठनसम्बन्धी विषयको अन्तिम कार्यान्वयन हुन बाँकी छ।
यद्यपि, नयाँ ई–जीपी प्रणाली सञ्चालन, तल्लो अरुण आयोजनाको ठेक्का आह्वान, सार्वजनिक खरिदसम्बन्धी कार्यविधि जारी तथा विपद् व्यवस्थापन कोषमा रकम निकासालाई सरकारले यस अवधिका ठोस कामका रूपमा प्रस्तुत गरेको छ।

