पावरप्लेमा धरमराएको कर्णालीको ब्याटिङ सम्हाल्दै सोमपालले टोलीलाई जित दिलाए । उनले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६२ रन बनाए । बलिङमा समेत चम्किएका सोमपालले विराटनगरका ४ विकेट लिए ।
कर्णालीको जितमा गुल्सन झाले पनि महत्त्वपूर्ण योगदान दिए । उनले २१ बलमा २ चौका र २ छक्कासहित अविजित २८ रन बनाए । पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकासहित ३६ रन जोडे । अरिफुल इस्लामले १२ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ३२ रन बनाउँदा दीपक डुम्रेले ११ बलमा २० रनको योगदान दिए ।
विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान १ विकेट लिए पनि विराटनगरलाई जिताउन सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरे ।
त्यस्तै, आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकाको मद्दतमा ३१ रन जोडे भने बसिर अहमदले १३ रन बनाए ।
कर्णालीका लागि कप्तान सोमपालले ४ विकेट लिँदा मार्क वाट र नन्दन यादवले समान १ विकेट लिए ।
यस जितसँगै कर्णालीले जारी एनपिएलमा लगातार दोस्रो जित दर्ता गरेको छ । विराटनगरले भने प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ ।

