सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका हुन् । शपथ तथा प्रमाणपत्र वितरणसँगै नयाँ कार्यसमितिको पदबहाली प्रक्रिया अघि बढ्ने भएको छ ।
महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्वाचित भएका छन् । चन्द्रकान्त भण्डारी र मधु आचार्य खुला उपसभापतिमा निर्वाचित हुँदा पुष्पा भुसाल महिला उपसभापति र विनोद चौधरी समावेशी उपसभापति बनेका छन् ।
त्यस्तै, प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका छन् । विभिन्न समूहबाट ११ जना सहमहामन्त्रीसमेत चयन भएका छन् ।
तर, नवनिर्वाचित केन्द्रीय कार्यसमितिका चार सदस्यले भने शपथ लिन पाएनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवको शपथ रोकिएको हो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ तथा प्रमाणपत्र वितरणपछि पदबहालीको प्रक्रिया अघि बढाइनेछ । त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्ने तथा पार्टीका जिल्ला र प्रदेश अधिवेशनबारे छलफल गर्ने तयारी छ ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको अन्तिम निर्वाचन परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो । सभापतिमा गगनकुमार थापाले ९४ प्रतिशत मत प्राप्त गर्दै विजय हासिल गरेका थिए ।

