काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँले दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए।
महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको संज्ञा दिँदै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको रक्षामा तरुणहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा सक्रिय हुन युवाहरूलाई आग्रह गरे।
नेपाली कांग्रेसले तरुण तथा युवालाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताए। उनले पार्टीको रूपान्तरणका लागि तरुणहरू संगठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत कांग्रेसलाई जनतासँग जोड्नुपर्ने धारणा राखे।
पार्टीभित्र भएका सुधारका प्रयास र सकारात्मक परिवर्तनलाई जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले ती परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने बताए।

