काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा फूलका मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।
एसोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान सार्वजनिक गरेको हो।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस वर्षको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले माग धान्ने दाबी गरेका छन्। उनका अनुसार अनुमानित ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति हुने अपेक्षा गरिएको छ।
एसोसिएसनका अनुसार सयपत्री फूलका ४५ लाख मालाको औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले ४० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। त्यस्तै, मखमलीका ६ लाख मालाको प्रतिमाला औसत ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ।
यसैगरी, गोदावरीका २० हजार मालाको प्रतिमाला औसत १ हजार २०० रुपैयाँका दरले २ करोड ४० लाख रुपैयाँ र मिक्स फूलका ६० हजार मालाको प्रतिमाला औसत ४०० रुपैयाँका दरले २ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
यसैबीच, एसोसिएसनले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले प्रदर्शनीमा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने जानकारी दिएका छन्।
आयोजकका अनुसार प्रदर्शनीमा ४५० प्रजातिका फूल तथा बिरुवा राखिनेछन्। प्रदर्शनीको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

