काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आयोजना हुने भएको छ। गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सव आगामी पुस ८ गतेदेखि १२ गतेसम्म मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा सञ्चालन हुनेछ।
महोत्सवलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, कृषि उपज र हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री, स्थानीय मौलिक परिकारसहितको खाना महोत्सव र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै, महोत्सवको प्रमुख आकर्षणका रूपमा लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिनेछ।
स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, कृषि उपज तथा स्थानीय उत्पादनको बजारीकरण, खेलकुदको विकास र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य महोत्सवले लिएको छ।
महोत्सवले मर्स्याङ्दी क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, स्थानीय स्वाद र पर्यटकीय सम्भावनालाई उजागर गर्दै गाउँपालिकाको पहिचान थप विस्तार गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

