काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि प्रकारको आर्थिक लेनदेन र अनुचित काम नभएको दाबी गरेका छन्।
सभापति थापाले बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका हुन्।
‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,’ उनले भनेका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई अदालतबाट आधिकारिकता दिलाउन आर्थिक लेनदेन भएको दाबीसहित हाल प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि थापाले यस्तो प्रष्टीकरण दिएका हुन्।
उनले उक्त प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन्। कांग्रेस सबै किसिमका अनुसन्धानका लागि तयार रहेको उनको भनाइ छ।
थापाले आफूलाई कसैले तर्साउन खोज्दैमा नतर्सिने पनि स्पष्ट पारेका छन्। पार्टीको आधिकारिकतासम्बन्धी कानुनी प्रक्रियामा कुनै आर्थिक चलखेल नभएको दाबी गर्दै उनले यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्।
सार्वजनिक अडियो र त्यससँग जोडिएका आरोपबारे निष्पक्ष छानबिनमार्फत वास्तविकता बाहिर आउनुपर्ने थापाको भनाइ छ।

