काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वका अवसरमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले बुधबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीलाई चाडपर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन निर्देशन दिएका हुन्।
उनले चाडपर्वका समयमा हुन सक्ने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन भनेका छन्। चाडपर्वमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिन उनले जोड दिएका छन्।
त्यसैगरी, मन्त्री श्रेष्ठले आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न प्राधिकरणलाई निर्देशन दिएका छन्।
सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना र प्रस्तुतीकरण पेस गर्न पनि उनले निर्देशन दिएका छन्।

