काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरण, निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नेतृत्वमा नयाँ नियुक्ति गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको हो।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरिएको हो।
नवनियुक्त तीनै जनालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनुका साथै नियुक्तिपत्र प्रदान गरेका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रीवृद्धिका लागि निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्।
त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई संस्थाको गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति कटिबद्ध हुन निर्देशन दिएका छन्।
नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई पनि अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

