काठमाडौं । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालु तथा श्रद्धालु भक्तजनहरू पूजासामग्रीसहित नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारसहित देशका विभिन्न स्थानमा भक्तजनहरूको घुइँचो लागेको थियो।
चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ।
विशेषगरी सूर्यदेव र छठी माताको पूजा तथा आराधना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो।

