काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका नाममा भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ रहेका छन् ।
नेपाल र मलेसियाबीचको सम्झौताविपरीत गैरकानूनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको उनीहरूमाथि आरोप छ ।
प्रहरीका अनुसार उक्त प्रकरणमा १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी रकम गैरकानूनी रूपमा मलेसिया पठाइएको आरोप छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

