- करदाता प्रोत्साहनमा उत्साह, १० लाख ८२ हजारभन्दा बढी कारोबार योग्य
- करदाता उपहारका लागि १० लाखभन्दा बढी बिल दर्ता, छिट्टै पुरस्कार घोषणा
- साउन १–१५ को कारोबारमा दैनिक १ लाख र बम्पर १० लाख जित्ने अवसर
काठमाडौं । सरकारको करदाता उपहार प्रोत्साहन कार्यक्रमप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म कार्यक्रमका लागि योग्य कारोबारको संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ।
विभागका अनुसार यसमा क्यूआर कोडमार्फत गरिएको कारोबार र नगद खरिदपछि उपभोक्ताले प्रणालीमा अपलोड गरेका बिल दुवै समावेश छन्। उपहार घोषणा हुनुअघि नगद कारोबारका बिल पनि दर्ता गर्न सकिने भएकाले योग्य कारोबारको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ देखि १५ गतेसम्म १० लाख ७४ हजार ७९६ वटा क्यूआर कारोबार उपहार कार्यक्रममा योग्य ठहरिएका छन्। त्यस्तै नगद कारोबारपछि प्रणालीमा अपलोड गरिएका ३ हजार ४२७ वटा बिल पनि कार्यक्रममा समावेश भएका छन्।
आन्तरिक राजस्व विभागले पहिलो चरणमा साउन १ देखि १५ गतेसम्म भएका कारोबारबाट १५ जना विजेतालाई दैनिक एक–एक लाख रुपैयाँ तथा एक जना विजेतालाई बम्पर १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने तयारी गरेको छ।
विभागले साउन १६ गते नै विजेता घोषणा गर्ने योजना बनाएको भए पनि प्राविधिक तयारी पूरा हुन नसकेकाले पुरस्कार घोषणा केही दिन ढिलाइ भएको जनाएको छ।
यसैबीच विभागले पहिलो उपहार घोषणा हुनुअघिसम्म नगद कारोबार गरी बिल लिएका उपभोक्तालाई करदाता प्रोत्साहन पोर्टलमा आफ्नो बिल प्रविष्ट गर्न आग्रह गरेको छ। विभागले उक्त पोर्टल शनिबारदेखि सञ्चालनमा ल्याएको हो।
चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए। कार्यक्रमअन्तर्गत एक सय रुपैयाँ वा सोभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ।
योजनाअनुसार सरकारले हरेक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि एक लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गर्नेछ। बम्पर पुरस्कारमा लागू हुने कर भने प्रचलित कानुनअनुसार कट्टी गरिनेछ।

