काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन १६ गतेदेखि तीन दिनसम्म सञ्चालन गरेको पूर्वतयारी तथा प्रतिकार्य तालिमको समापनसँगै ४० युवा सहभागीलाई समेटेर उक्त टोली गठन गरिएको हो।
तालिम समापन कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपद्का बेला केवल समाचार हेर्ने वा सुन्ने अवस्थाबाट अघि बढेर अब प्रत्यक्ष उद्धार र जीवन बचाउने अभियानमा दक्ष जनशक्ति परिचालन गर्ने उद्देश्यले टोली गठन गरिएको बताए।
उनले यो अभियानको सुरुआत मात्र भएको उल्लेख गर्दै भविष्यमा देशभर एक हजार दक्ष विपद् स्वयंसेवक तयार गर्ने लक्ष्य पार्टीले लिएको जानकारी दिए।
तीनदिने तालिममा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध अनुभव भएका ११ जना विपद् विशेषज्ञले प्रशिक्षण दिएका थिए।
कार्यक्रम संयोजक तथा प्रतिष्ठान सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाका अनुसार तालिममा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार, प्रतिकार्य, खोज तथा पुनर्स्थापनासम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो।
नेपाली कांग्रेसले गठन गरेको रणनीतिक विपद् परिचालन टोलीलाई आगामी दिनमा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का बेला उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यमा सक्रिय रूपमा परिचालन गर्ने योजना रहेको जनाएको छ।

