काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’ (एन्टिभेनम) को अभाव नरहेको स्पष्ट पारेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन्।
उनका अनुसार हाल उपलब्ध एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिब ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ।
मन्त्री मेहताले सर्पदंश उपचारलाई थप प्रभावकारी बनाउन १३ हजार २ सय भायल एन्टिस्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिइन्।
उनले तत्काल एन्टिभेनमको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गर्दै आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन्।
साथै, सर्पले टोकेपछि घरायसी उपचारमा अल्झिनु जोखिमपूर्ण हुने भन्दै उनले तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन सर्वसाधारणलाई आग्रह गरिन्।
रेबिजविरुद्धको खोपको आपूर्तिबारे पनि मन्त्री मेहताले कुनै समस्या नरहेको बताइन्। उनका अनुसार स्वास्थ्य सेवा विभागले २ लाख ७४ हजार भायल एमआरभी (MRV) खरिदका लागि सम्झौता गरिसकेको छ र आपूर्ति भइरहेको छ। यसमध्ये १ लाख ९० हजार भायल गत साता नै प्राप्त भइसकेको उनले जानकारी दिइन्।
देशभर रेबिजविरुद्धको खोपको नियमित उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री मेहताको भनाइ छ।

