काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनलाई तीव्र बनाएको छ।
उपभोक्ताहरू ग्यास पाउन घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी वा आपूर्ति अवरोधबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा ग्यासको अभाव वा अनियमितता देखिए तत्काल जानकारी गराउन अपिल गरेको छ।
मन्त्रालयका अनुसार कुनै पनि उपभोक्ताले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा आपूर्तिमा समस्या देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी गुनासो दर्ता गराउन सक्नेछन्।
मन्त्रालयले प्राप्त हुने सबै गुनासोलाई गम्भीरतापूर्वक लिइने जनाएको छ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन, आवश्यक कारबाही तथा समस्या समाधानका लागि तत्काल पहल गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको छ। यस्तो अवस्थामा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न सरकारले निगरानी बढाएको जनाएको छ।

