काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। आइतबार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए।
अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए। जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएको उपमहासचिव पुनले बताए।
संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरू राखेको र सोमबार अध्यक्ष दाहालसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए।