काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक सोमबारदेखि दैनिक ४ घण्टा बन्द रहने भएको छ । वैशाख २२ गते सोमबारदेखि १० दिनसम्म सडक दैनिक ४ घण्टा आंशिक बन्द हुने छ ।
सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा २२ देखि ३१ वैशाखसम्म राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे। सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।
यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ । बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।
अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ ।
आयोजनाले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ।