काठमाडौं । काठमाडौं तीनकुनेमा तीन वटा गाडी एक आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो । बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा काठमाडौं–३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१ ०२६च २९२७ भ्यान र बा.प्र.०२ ३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरुमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।
घाइते चालकको ट्रमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।