काठमाडौं । नेपाल उद्योग परिसंघले लगानी वृद्धिमा सहज वातावरण हुने गरी बजेट ल्याउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेस गर्दै परिसंघले लगानी वृद्धिमा सहज हुने गरी बजेट ल्याउन आग्रह गरेको हो ।
परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई आत्मविश्वास साथ लगानी वृद्धि गर्ने नीति आवश्यक रहेको बताएको छ । उसले आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्नसमेत भनेको छ ।
परिसंघका तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले ‘समृद्धिका लागि जे पनि’ को भावना सहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले आगामी १० वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रवर्द्धन गर्ने नीति लिन आग्रह गरे । उनले स्वदेशी उद्योग विकास तथा प्रवर्द्धन गर्न सरकार तथा निजी क्षेत्रको सहकार्यलाई थप जोड दिनुपर्ने बताए ।