काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेसँगै पहिलो निर्णयको रूपमा पाँच सय र एक हजार रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटारमा पदभार ग्रहण गर्दै गभर्नर पौडेलले आर्थिक क्षेत्रमा सुधार र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै मौद्रिक नीतिको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
गभर्नर पौडेलले मुलुकमा मूल्य स्थायित्व, वित्तीय अनुशासन र बैंकिङ प्रणालीको पारदर्शिता बलियो बनाउनका लागि राष्ट्र बैंकको नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् । उनले पहिलो निर्णयकै रूपमा नयाँ नोट छपाइको प्रक्रिया अघि बढाउनुले मुद्रास्फीतिको व्यवस्थापन, नक्कली नोटको नियन्त्रण तथा मुद्रा व्यवस्थापन सुदृढ बनाउने संकेत दिएको छ ।
यसैबीच, राष्ट्र बैंककै कार्यकारी निर्देशक एवं गभर्नर पदका आकांक्षीमध्ये एक गुणाकर भट्टको राजीनामाबारे प्रश्न उठेपछि गभर्नर पौडेलले त्यो विषय पूर्ण रूपमा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित भएको प्रतिक्रिया दिए ।
गभर्नर पौडेलले अबको कार्यकालमा मौद्रिक स्थायित्व, बैङ्किङ निगरानी तथा डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखी काम अघि बढाउने संकेत समेत दिएका छन् ।