काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसद्मा सँगसँगै उभिन नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकलाई घेर्ने रणनीति लिँदै माओवादी र राप्रपालाई सँगसँगै लैजाने तयारी गरेको छ ।
यसअघि रास्वपा केन्द्रीय समिति बैठकले छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला सहकारी ठगी विवाद चर्किंदा कांग्रेसको तर्फबाट लेखकले लामिछानेको राजीनामा मागेका थिए ।
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘प्रचण्ड र लिङ्देनको नेतृत्वमा रहेको संसदीय दललाई रास्वपासँग उभिनका लागि आह्वान गर्छौं ।’