काठमाडौं । अमेरिकाले नेपालीलाई भिसामा कडाइ गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दैै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय सुरक्षा अमेरिकाको पहिलो प्राथमिकता रहेको भन्दै भिसामा कडाइ गरेको हो । प्रत्येक यात्रुको कडा सुरक्षा जाँच प्रक्रियाबाट मात्रै भिसा दिइने बताइएको छ ।
‘के तपाईं अमेरिकी भिसाका लागि आवेदन दिने सोच्दै हुनुहुन्छ ? अमेरिकाको राष्ट्रिय सुरक्षा हाम्रो उच्च प्राथमिकता हो । प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्छ जसमा कानून कार्यान्वयन निकायका रेकर्डहरू र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सबै सुरक्षा जाँचहरु पूर्ण रुपमा समाधान नभएसम्म भिसा जारी नहुने समेत बताइएको छ । साथै राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्याउन सक्ने व्यक्तिलाई अमेरिकामा प्रतिबन्ध लगाइने चेतावनी समेत दिइएको छ ।
‘सबै सुरक्षा जाँचहरु पूर्ण रूपमा समाधान नभएसम्म तपाईंको भिसा जारी हुनेछैन । राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्याउन सक्ने व्यक्तिहरूलाई अमेरिका तर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो,’ दूतावासले भनेको छ ।