काठमाडौँ । साताको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ३५ दशमलव ०९ अंकले घट्दै २ हजार ७२५ विन्दुमा कायम भएको छ। बजारमा मन्दीको प्रभाव देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेखनीय लाभ कमाएका छन्।
आजको दिन कारोबार भएका ३२१ कम्पनीमध्ये ५० कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १९८ कम्पनीको मूल्य घट्यो। दिनभरको कारोबारमा २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको भयो, जसको सेयर मात्रै ४० करोड ८८ लाख रुपैयाँमा किनबेच भयो। त्यसपछि बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख र सानिमा बैंकको २४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
लगानीकर्तालाई लाभ दिलाउने कम्पनीहरूमा माइखोला हाइड्रोपावर अगाडि देखियो। यस कम्पनीका सेयर मूल्यमा ५ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, केबिएल डिबेञ्चर ५ दशमलव ७७ प्रतिशत, हिमालयन हाइड्रोपावर ४ दशमलव ४८ प्रतिशत र जोशी हाइड्रोपावरका सेयर मूल्यमा ४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ।
यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले भने सबैभन्दा धेरै घाटा व्यहोर्नु परेको छ। उक्त कम्पनीका सेयर मूल्यमा ४ दशमलव ४६ प्रतिशतले गिरावट आएको छ।