काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाममा रहेको ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ।
आफूलाई नागरिक अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाम र चुनाव चिन्ह दुवैप्रति आपत्ति जनाउँदै आयोगमा निवेदन दिएका हुन्।
सफलले रास्वपाको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको अधिकारमाथि प्रहार गरेको तर्क गरेका छन्। “राजनीतिक दल कुनै विचार, सिद्धान्त र संगठनमा आधारित हुन्छ, त्यसैले स्वतन्त्र हुन सक्दैन,” निवेदनमा उल्लेख गरिएको छ, “यसले मतदातामा भ्रम सिर्जना गरेको छ र स्वतन्त्र उम्मेदवारको पहिचान खोसिएको छ।”
यसैगरी, उनले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि आपत्ति जनाएका छन्। सफलको भनाइमा, घण्टी हिन्दू धर्मको धार्मिक प्रतीक भएकोले त्यसलाई दलको चुनाव चिन्ह बनाउनु अनुचित र आपत्तिजनक हो।
उनले धर्मनिरपेक्ष मुलुकमा कुनै एक धर्मको आस्थासँग जोडिएको प्रतीकलाई राजनीतिक चिह्न बनाइनु नीतिगत रूपमा पनि गलत भएको बताएका छन्।