काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार तथा ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत परियोजना र प्रसारण लाइन उद्घाटन गरेका हुन् ।
कैलालीको जानकी गाउँपालिका–९ कटासेमा निर्माण गरिएको सिँचाइ नहरमा विद्युत उत्पादन सुरु गरिएको छ, जुन ३३ केभी क्षमताको प्रसारण लाइनमा जोडिएको छ । सिँचाइ, जलविद्युत र प्रसारणको एकीकृत प्रयोगमार्फत राष्ट्रिय गौरवको आयोजना मानिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना अब तेस्रो चरणमा प्रवेश गरेको हो ।
पहिलो र दोस्रो चरणमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा पु¥याइएको यस आयोजनाले अब भजनी, जोशीपुर, बर्दगोरिया र घोडाघोडीलगायतका पालिकामा सिँचाइ सेवा विस्तार गर्नेछ । आयोजनाको तेस्रो चरणले कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्री ओलीले सो आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको बताए । उनले आयोजना नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षासँग जोडिएको स्पष्ट पारे ।
उनले करिब १२० वर्षअघि स्थानीय किसानहरूले सामूहिक प्रयासबाट सुरु गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गरे । प्रधानमन्त्रीका अनुसार स्थानीय सहभागिता र सरकारले गरेको समन्वयबाट आजको सफलताको जग खडा भएको हो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना-सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।