काठमाडौं । दीया श्रेष्ठले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को उपाधि जितेकी छन्। नेपाली समयअनुसार शनिबार राति न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा सम्पन्न फिनालेमा न्यूयोर्क निवासी दीयाले उपाधि जितेकी हुन्।
प्रतियोगिताको पहिलो उपविजेता टेनेसी राज्यकी कृष्मा सुवेदी घोषित भइन् भने दोस्रो उपविजेता टेक्सास राज्यकी आर्या कोइराला बनिन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधित्व गर्दै १९ जना प्रतिस्पर्धी सुन्दरीहरूले भाग लिएका थिए।
उपाधि जितेसँगै दीया श्रेष्ठले २०२६ मा हुने मिस नेपाल प्रतियोगितामा सीधा प्रवेश पाउने अवसर प्राप्त गरेकी छन्। साथै, उनी नेपाल पर्यटन बोर्डको सद्भावना दूत पनि बन्नेछिन्। उपाधिसँगै उनले अन्य विविध अवसरहरू पनि प्राप्त गर्नेछिन्।
फिनालेमा निर्णायकका रूपमा कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ सहभागी थिए।
प्रतियोगिता ड्रीम्स युनिभर्सलको आयोजनामा गरिएको हो। आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिता उत्साहजनक ढंगले र भव्य रूपमा सम्पन्न भएको हो।