काठमाडौं । भारतले नेपालबाट लैजाने बिजुलीको परिमाण ८१०.९ मेगावाटबाट बढाएर १०१०.९ मेगावाट पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, भारतले थप २०० मेगावाट बिजुली आयातका लागि सहमति जनाउँदै पाँच जलविद्युत् आयोजनाको बिजुली लैजाने अनुमति दिएको हो।
भारतले स्वीकृति दिएका आयोजनामा लोअर सोलु, सुपर काबेली ए, ठूलो खोला, लिखु खोला ए र लिखु–२ समावेश छन्। चीनसँगको टकरावका कारण भारतले चीनको संलग्नता नभएका आयोजना मात्र रोज्ने गरेको छ।
थप २०० मेगावाट विद्युत भारतले आगामी अक्टोबर ३१ सम्म लैजानेछ। स्वच्छ ऊर्जा आपूर्तिमा दबाब खेपिरहेको भारतले त्यसपछि पनि नेपालको निर्यात क्षमता कायम रहेमा विद्युत आयातलाई निरन्तरता दिने संकेत दिएको प्राधिकरणका अधिकारीहरूले जनाएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारतमा बिजुली निर्यात गरी १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। परिमाण वृद्धि भएसँगै यो आम्दानी अझ बढ्ने प्राधिकरणको अनुमान छ। यससँगै, नेपालले बङ्गलादेशलाई पनि भारतीय प्रसारण लाइनमार्फत जेठ मसान्तदेखि ४० मेगावाट बिजुली आपूर्ति गरिरहेको छ।