काठमाडौं । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। सुनिता भण्डारीको लगानीमा निर्माण गरिएको यो फिल्ममा हिँडेर अमेरिका पुग्ने नेपालीहरूको कथा प्रस्तुत गरिएको छ। १३ मिनेट ५८ सेकेन्ड लामो यो सर्ट फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन्। उनीसँगै अमेरिकामा बस्दै आएका कलाकार सुभाष थापा, नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले पनि अभिनय गरेका छन्।
फिल्मको केन्द्रमा अभिनेता हसन राजा खान छन्, जसले केही नेपाली चलचित्रहरूमा पनि अभिनय गरिसकेका छन्। ‘वन इन अ मिलियन’ ले अमेरिका पैदल यात्रामा निस्कने नेपालीहरूको संघर्ष, सपना र अमेरिकामा पुगेर उनीहरूले भोग्ने जीवनशैलीलाई मार्मिक ढंगले चित्रण गरेको छ।
फिल्मका छायाँकार रामेश्वर कार्की हुन्। यो सर्ट फिल्म ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५’ र ‘फिल्ममेकर सिजन भोल्युम ११–२०२५’ मा पनि आधिकारिक रूपमा छनोट भइसकेको छ। संवादरहित यो फिल्ममा भावनात्मक दृश्य र कलाकारहरूको अभिव्यक्तिमार्फत कथाले आफ्नो सन्देश दर्शकसम्म पुर्याएको छ।

