काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
अधिकारी विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारले जनाएकाे छ ।
एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेकाे प्रवक्ता सुरेश न्यौपाने बताए । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारले जनाएकाे छ ।
घुस वापतकाे रकम अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायत बैंक तथा वित्तीय संस्थामा जम्मा गरेकाे पाइएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘अधिकारीले एच.के.इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त एच.के.इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट प्राप्त घुस/रिसवत रकम जम्मा ७०,००,००० निज प्रतिवादी झलकराम अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायत बैंक तथा वित्तीय संस्थामा दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई जिल्ला भक्तपुर, थिमी न.पा. साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र केसी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको ।’

