काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने, रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने, विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) बाट प्राप्त विवरणलाई दाबी मान्यता दिने तथा आईसीडी–११ कोड प्रयोग गर्ने निर्णय गरेको छ।
बोर्डको दोस्रो बैठकले स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाह, बीमितको पहिचान, दाबी व्यवस्थापन र वित्तीय दिगोपनामा सुधार ल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको हो।
बोर्डका अनुसार २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनेछ।
त्यस्तै, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, ग्राहक पहिचान विवरण अद्यावधिक र दाबी व्यवस्थापनलाई विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत–प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदलसमेत गठन गरिने भएको छ।
उक्त कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ६० दिनभित्र पेस गर्नुपर्नेछ। यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना कायम गर्न, सेवा गुणस्तर सुधार गर्न, लागत नियन्त्रण गर्न तथा दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाबाट विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय गरिएको छ।
यस व्यवस्थाले हस्तलिखित औषधि सिफारिस, म्यानुअल दाबी प्रक्रिया, कागजी अभिलेख तथा भुक्तानीमा हुने ढिलाइ क्रमशः घटाउने अपेक्षा गरिएको छ। ईएमआर प्रणालीबाट प्राप्त डिजिटल तथ्यांकलाई निकट भविष्यमा कृत्रिम बौद्धिकता (एआई) तथा मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणालीमा समेत प्रयोग गर्ने निर्णय भएको छ।
स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन पहिलो चरणमा दुई हजार १५८ वटा परिमार्जित आईसीडी–११ कोड स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) मा प्रयोग गर्ने निर्णयसमेत बोर्डले गरेको छ।
यसबाट रोगको निदान तथा अभिलेखीकरणमा एकरूपता कायम हुनुका साथै दाबी परीक्षणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ।

