काठमाडौँ । सरकारी कामकारबाहीलाई निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउन निजामती कर्मचारीहरूका लागि उपहार, दान तथा सापटीसम्बन्धी कडा नियम लागू गरिएको छ।
प्रस्तावित निजामती सेवा ऐनको दफा ७९ मा भएको व्यवस्थाअनुसार कुनै पनि निजामती कर्मचारीले सरकारी काममा असर पर्ने गरी सरकारको पूर्वस्वीकृतिविना आफू वा आफ्नो परिवारका सदस्यमार्फत कसैबाट दान, उपहार, कोसेली वा चन्दा लिन पाउने छैनन्।
यसैगरी, सरकारी कामसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूसँग कुनै पनि किसिमको सापटी वा ऋण लिनसमेत पूर्ण रूपमा रोक लगाइएको छ।
विदेशी सरकार वा तिनका प्रतिनिधिबाट प्राप्त हुने उपहारका सम्बन्धमा भने कर्मचारीले तुरुन्त नेपाल सरकारलाई जानकारी गराउनुपर्नेछ। सरकारबाट प्राप्त हुने निर्णय वा निकासाका आधारमा मात्रै उक्त उपहारबारे अघि बढ्नुपर्ने कानूनी व्यवस्था छ।
तथापि, कुनै द्विपक्षीय, बहुपक्षीय, अन्तर्राष्ट्रिय संस्था वा अन्य सरकारी निकायहरूबाट औपचारिक रूपमा प्रदान गरिने मायाको चिनो भने स्वीकार गर्न कुनै बाधा नपर्ने स्पष्ट पारिएको छ।

