काठमाडौँ– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक रहेको जनाएको हो ।
महासंघका अनुसार खत्रीले ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । पूर्वपत्रकारसमेत रहेका खत्रीबाट यस्तो अभिव्यक्ति आउनु झनै आपत्तिजनक रहेको महासंघले जनाएको छ ।
महासंघले सांसद खत्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल क्षमा माग्न आग्रह गरेको छ । विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबार आयोजना गर्न लागेको अन्तरक्रिया भक्तपुरका पत्रकारहरूले बहिष्कार गर्ने जानकारी गराइसकेको समेत महासंघले जनाएको छ ।
महासंघले खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेको छ । साथै संवैधानिक अधिकारको ख्याल नगरी पत्रकार तथा प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारिता क्षेत्रको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ ।
महासंघले पत्रकार तथा सञ्चारमाध्यमको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक पदमा रहेका व्यक्तिबाट पत्रकारिता क्षेत्रप्रति गरिने अभिव्यक्ति जिम्मेवार र मर्यादित हुनुपर्ने जनाएको छ ।

