काठमाडौं– पछिल्लो समय फिल्म निर्माणमा व्यावसायिक घरानाहरूको आकर्षण बढिरहेका बेला चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी पनि फिल्म निर्माणमा होमिएका छन् । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘टनेल २६’ आगामी शुक्रबार अर्थात् २३ असोजदेखि प्रदर्शनमा आउँदैछ ।
नेपालका ठूला व्यावसायिक घरानाका उद्योगीहरू शेखर गोल्छा, धीरजकुमार अग्रवाल, नितेश मालपानी, राजेन्द्र शाक्य र दीपक मल्होत्रालगायतले फिल्म निर्माणमा हात हालिसकेका छन् । चौधरी ग्रुपको फिल्म निर्माणमा भने यो पहिलोपटक होइन ।
२०४१ सालमा प्रदर्शन भएको फिल्म ‘वासुदेव’ निर्वाणका बुवा तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले निर्माण गरेका थिए । उक्त फिल्म नेपाली चलचित्र क्षेत्रको ‘कल्ट क्लासिक’का रूपमा परिचित छ ।
‘वासुदेव’ प्रदर्शन भएको करिब चार दशकपछि चौधरी ग्रुपबाट निर्वाण फिल्म निर्माणमा जोडिएका हुन् । ‘टनेल २६’मा सहकार्यको प्रस्ताव भुटानी कलाकार सांगे सेल्ट्रिमले गरेपछि निर्वाण फिल्म निर्माणमा जोडिएका हुन् ।
नेपाल र भुटानबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित फिल्म निर्माणमा सहकार्य गर्ने प्रस्ताव आफूलाई मन परेकाले स्क्रिप्टसमेत नहेरी लगानी गर्न तयार भएको निर्वाणले बताएका छन् ।
‘सांगे सेल्ट्रिमसँग केही पटकको भेटपछि हामीबीच एकदमै राम्रो मित्रता बन्यो । त्यही क्रममा उहाँले नेपाल र भुटानको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर फिल्म निर्माण गर्ने प्रस्ताव ल्याउनुभयो । त्यो प्रस्ताव मलाई एकदमै मनपर्यो । सांगेप्रतिको विश्वासकै भरमा मैले स्क्रिप्टसमेत नहेरी लगानी गर्ने वाचा गरेँ । पछि फिल्ममा भारतको कम्पनी पनि जोडियो,’ उनले भने ।
फिल्म निर्माणमा आउने सोच भने आफ्नो लामो समयदेखिको रहेको निर्वाणले बताए । बुवाबाट प्रेरित भएर आफू ‘टनेल २६’मा निर्माताका रूपमा जोडिएको उनको भनाइ छ ।
‘म बुवाबाटै प्रेरित भएर ‘टनेल २६’मा निर्माताको रूपमा जोडिएको हुँ । मलाई बच्चैदेखि ‘स्टोरी टेलर’ एकदमै मनपर्थ्यो । यसैले फिल्म बनाउने इच्छा वर्षौंअघिदेखिको थियो । बिजनेस सेटल भएपछि फिल्म निर्माणमा आउँछु भन्ने सोचिरहेकै थिएँ । ‘टनेल २६’बाट त्यो अवसर जुर्यो,’ उनले भने ।
निर्वाण फिल्मको छायांकनमा भने एकपटक मात्रै पुगेका थिए । करिब १५ देखि २० मिनेट छायांकनस्थलमा बिताउँदा निर्देशक तथा कलाकारहरूको मिहिनेत देखेर फिल्म राम्रो बन्नेमा आफू विश्वस्त भएको उनले बताए ।
‘म फिल्मको छायांकनमा एकचोटी पुगेको थिएँ, त्यो पनि १५–२० मिनेटलाई । त्यसबेला निर्देशक र कलाकारहरूको मिहिनेत देख्दा फिल्म राम्रो बन्छ भन्नेमा विश्वस्त थिएँ,’ उनले भने ।
निर्वाणले ‘टनेल २६’ विश्वस्तरमा पुग्नुपर्ने फिल्म रहेको बताएका छन् ।
डीडी किन्लेले लेखन तथा निर्देशन गरेको फिल्ममा अनुप विक्रम शाही, आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा र केजाङ काजलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा प्रदीप खड्काले विशेष भूमिकामा अभिनय गरेका छन् । उनी फिल्मका क्रिएटिभ प्रोड्युसरसमेत हुन् ।

