प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर नेपाल संवत् सुरु गरेको स्मरण गर्दै उनले चन्द्रमामा आधारित यस संवत्ले नेपालको मौलिक पहिचान बोकेको बताएका छन्।
म्ह पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उल्लेख गरेका छन्।
उनका अनुसार नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने म्ह पूजाले आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने गरेको छ।
त्यसैगरी, गोवर्धन पूजाको अवसरमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै कृषिकर्मका सहयात्री गोरुको पूजा गर्ने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाउने परम्पराको पनि उनले स्मरण गरेका छन्।
तिहारका अवसरमा भैलोका भाका र देउसीका आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

