नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सोमबार भएको दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका परम्परागत उपहार आदानप्रदान गरिएको हो।
प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टामा राखिएको रुद्राक्ष र रातो मच्छिन्द्रनाथको मूर्ति भारतीय प्रधानमन्त्री मोदीलाई प्रदान गरेका छन्। नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको सम्मानस्वरूप शाहले उक्त उपहार दिएका हुन्।
ऐतिहासिक मान्यताअनुसार लिच्छवि राजा नरेन्द्रदेवले भारतको तत्कालीन कामरूप (हालको असम) स्थित कामाख्या क्षेत्रबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याएका थिए। नेपाल र भारतबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रातो मच्छिन्द्रनाथलाई लिने गरिन्छ।
सोही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री शाहलाई परम्परागत धातुको कलश उपहार दिएका छन्। माथिल्लो भागमा बिर्को र साना बुट्टा कुँदिएको उक्त कलात्मक कलशलाई धार्मिक तथा सांस्कृतिक परम्परामा शुभ, समृद्धि र स्वागतको प्रतीकका रूपमा लिइन्छ।
उच्चस्तरीय राजकीय भ्रमणका क्रममा दुई देशबीच आपसी सम्बन्ध, संस्कृति र परम्परा झल्काउने सामग्री उपहार आदानप्रदान गर्ने प्रचलन रहँदै आएको छ।

