भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीमा दुई देशका प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय भेटवार्तापछि विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।
समझदारीअनुसार नेपाल र भारतले सुरक्षा, प्रशासन, शिक्षा, अनुसन्धान, स्वास्थ्य, प्रविधि तथा विकास निर्माणका क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने भएका छन् ।
समझदारीमा समेटिएका प्रमुख आठ विषय यस्ता छन् :
१. शैक्षिक तथा अनुसन्धान सहकार्य
भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको छ ।
२. सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य
भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ ।
३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि
भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा
आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ ।
५. स्याटेलाइट सञ्चार नेटवर्क स्थापना
दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारबीच समझदारी भएको छ ।
६. दिगो सहरी विकास
दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा दुई देशबीच समझदारी भएको छ ।
७. स्वास्थ्य तथा चिकित्सा
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
८. पशुपालन तथा मत्स्यपालन विकास
पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ ।

