काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रितम सिंह र दाहाल परिवारको सम्बन्ध भावनात्मक रहेको स्पष्ट पारेको छ । सचिवालयले आजै एक प्रेस नोट जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रितम सिंहले ‘एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नुभो । धेरै चोटि दिल्ली पनि जानु भयो’, भन्ने अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिको चौतर्फी आलोचना भयो । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार संसद् अवरोध पनि गर्यो ।
प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे दिएको उक्त अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको भन्दै उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।
जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै दाहालसँग प्रितम सिंहको चिनजान भएको, दाहालकी जेठी छोरीको क्यान्सर उपचार प्रक्रिया सिंहकै घरमा बसेर अघि बढाइएको, सिंहका नातिसँग प्रकाश दाहालको घनिष्ठ सम्बन्ध रहेकोजस्ता आधार देखाउँदै सिंह-दाहाल परिवारको भावनात्मक सम्बन्ध रहेको सचिवालयले प्रस्ट्याएको छ ।