काठमाडौं, ३१ असार । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक उमाशंकर प्रसाद जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेको भन्दै तीन दिनभित्र हटाएको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयोगको केही दिनअघि बसेको बैठकले उमाशंकरलाई केन्द्रीय कमिटीबाट हटाउन निर्देशन दिएको हो। ‘राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) मा स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न नमिल्ने कानूनी व्यवस्था भएकोमा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक उमाशंकर प्रसाद जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य रहेको भन्ने उजुरी आएको थियो,’ आयोगका एक सदस्यले भने, ‘उजुरी निवेदनसाथ पेश गरेका कागजात र जनता सो समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलले अद्यावधिकका लागि पेश गरेका कागजात एवम् दलको अद्यावधिक भएको विवरण हेर्दा उमाशंकर प्रसादको नाम सो दलको केन्द्रीय सदस्यमा कायम भएको देखिएको छ।’
अद्यावधिक साथ पेश भएको नागरिकता विवरण सहप्राध्यापक उमाशंकरसँग मेल खाएको आयोगले बताएको छ।
‘निज उमाशंकर प्रसादलाई दलको सदस्यता प्रदान गरी केन्द्रीय सदस्य बनाउने कार्य राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) र त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ६७ को उपनियम (१) विपरित भएको देखिँदा निजको नाम तत्काल केन्द्रीय समितिबाट हटाइ कानूनसम्मत ढंगले ३ दिनभित्र आयोगमा विवरण अद्यावधिक गर्न र अव उप्रान्त कानून विपरित हुनेगरी त्यस्ता व्यक्तिलाई दलको सदस्य नबनाउन जनता समाजवादी पार्टी, नेपाललाई निर्देशन दिने,’ आयोगले निर्णय गरेको छ।
सरकारी पद धारण गरेको व्यक्ति दलको केन्द्रीय सदस्य रहेको भन्दै उमाशंकरप्रसादलाई आवश्यक कारबाही गर्न निर्वाचन आयोगले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत नियामक निकायलाई पनि लेखी पठाएको छ।