काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र अनियमितताको अनुसन्धानमा सघाउने बताएका छन् ।
यूरोप भ्रमण सकेर आज बिहान काठमाडौं ओर्लिएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसाग कुरा गर्दै नेता नेपालले सरकारी जग्गा नेपाल सरकारकै नाममा हुनुपर्छ भन्ने असल मनसायले केही काम गरेको बताए ।
ललिता निवासको जग्गाका विषयमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष फस्न नहुने नेपालको भनाई छ । सो प्रकरणमा नीतिगत निर्णय गर्नेहरु माथि पनि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै नेता नेपाल यूरोप भ्रमणमा निस्किएका थिए ।
यो अनुसन्धानमा नेता नेपालसागै अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि तानिनु हुने भएको छ । सर्वोच्चको आदेश लगत्तै विदेश गएको भनेर नेता नेपाल र जान दिएको भन्दै सरकारको पनि आलोचना भएको थियो ।