काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ। विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए।
विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो। त्यही निर्णयका विषयमा सीआईबीले उनीसँग बयान लिएको जनाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीसँग बयान लिएको थियो। हालै सर्वोच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरुमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो।