काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।
विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ ।
खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।