काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ।
आज दिउँसो मन्त्रालयमा शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो। बैठकमा शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी पनि सहभागी थिए। आन्दोलनरत शिक्षकका तर्फबाट राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीलगायत थिए।
सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने उल्लेख छ। सहमतिअनुसार परीक्षामा उत्तीर्ण भएकाहरु स्थायी हुनेछन् भने अनुत्तीर्णलाई सरकारले आर्थिक सहयोग दिनेछ।
संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्याउने उल्लेख थियो। त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरुले आन्दोलन जारी राखेपछि सरकारले वार्ता गरेकाे थियाे।
आन्दोलनकै क्रममा प्रहरी हस्तक्षेप भएपछि राहत र बालविकासका शिक्षकहरु घाइतेसमेत भएका थिए। आन्दाेलन जारी राखेकाे एक सातापछि सरकारले उनीहरूसँग वार्ता गरेकाे हाे।