जनक श्रेष्ठ
लमजुङ । पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले आजदेखि १ महिने ड्राईभिङ तालिम सञ्चालन गरेको छ । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिकाबाट फर्म भरेका ८५ जना युवामध्ये २० जना युवालाई छनौट गरी मंगलबारबाट तालिम शुरु गरेको हो ।
उक्त तालिमको उद्घाटन गर्दै आयोजक यस कार्यालयका प्रमुख मिताकुमारी थापाले चालु वर्षको सिप विकास तालिम अन्तर्गत तालिम सञ्चालन गरिएको बताइन् । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउदै आयआर्जनमा बृद्धि गराउनका लागि सिपमूलक तालिम सञ्चालन गरिएको बताइन् ।
तालिममा जिल्लाका ८ वटै पालिकाका युवाहरुलाई समेटिएको उनको भनाई छ । तालिममा सहभागिहरुलाई ध्यान दिएर तालिम लिने र लिएको तालिमलाई व्यवहारमा उतार्न समेत उनले आग्रह गरिन् ।
जिल्लामा रहेका बेरोजगार, आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
उक्त तालिममा लागि कार्यालयले गत भदौ २७ गतेबाट असोज २ गतेसम्ममा आवेदन खुला गरेको थियो । उक्त समयमा जिल्लाका ८५ जना युवाहरुले फर्म भरेका थिए ।
फर्म भरेकाहरुलाई कार्यालयले छनौट समिति निर्माण गरी अन्तवार्ताका लागि छनौट गरेको थियो । सहभागि भएकामध्येबाट २० जना छनौट गरी ३ जनालाई बैकल्पिकमा राखिएको छ ।
उक्त तालिम सहभागीलाई बेसीशहर नगरपालिका ८ सेरास्थित कालिका ड्राईभिङ सेन्टरका कर्मचारीहरुले प्रशिक्षण दिने छन् । चारपाङ्ग्रे गाडीको प्रयोग गरी ड्राईभिङका लागि आवश्यक सवै कुराहरु प्रयोगत्मक सिकाइने भएकोछ ।
उद्घाटन कार्यक्रम कार्यालयका प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक प्रज्वल विक लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल ख्याम प्रसाद न्यौपानेले गरेका थिए । कार्यालय प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरी जिल्लाका युवायुवतीहरुलाई स्वरोजगार बनाउँदै आएको छ ।