एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको रकेट आक्रमणमा ७ जना नेपाली घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा परी घाइते भएका हुन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरे ।कान्तिपुरसँग कुरा गर्दै राजदूत रिजालले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको जानकारी दिए ।
यसैबीच, इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई आग्रह गरेको छ । राजदूत रिजालका अनुसार आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरिएको छ भने नेपाली विद्यार्थीहरूसँग नियमित सम्पर्क भइरहेको छ । विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भएको बताइएको छ ।