काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ। समूह चरणको ‘ए’मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौतीलाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पूरा गरेको हो। निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो।
नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा उनीहरुले ८४ रनको साझेदारी गरे। सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४ रनको गर्विलो योगदान गरे।
ओपनिङमा आएका आसिफले २६ बल खेलेर १ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाए। उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे। तेस्रो नम्बरमा व्याटिङ गर्न मैदान आएका क्याप्टेन रोहित पौडेलले अविजित ३५ को योगदान दिए भने कुशल मल्लले अविजित ६ रन बनाए।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन्।