काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले जितेको छ । मंगलबारको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको छ ।
मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकाको सहयोगमा ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकाको सहयोगमा ४३ रन बनाए । यस्तै अर्का ओपनर आसिफ शेखले २३ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३२ रन बनाए ।
नेपालका कप्तान रोहित पौडेल ८ बलमा २ रन बनाएर आउट भए । सन्दीप जोरा १६ बलमा १८ रनका साथ अविजित रहे भने विवेक यादव २ बलमा २ रनसहित अविजित रहे । मलेसियाका लागि अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने पवनदीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।
मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।
नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ ।