काठमाडौं । लमजुङ बेसिशहरमा १९ मंसिरदेखि चौथो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबाट आगामी पुसमा हुने त्रिवेणी कपका लागि बेसिशहरको तर्फबाट प्रतियोगी छनोट गरिनेछ।
बेसिशहर नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा पालिकाअन्तर्गत ११ वटा वडा सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिए।
सहजी खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद एक लाख र द्वितीय हुनेलाई ५० हजार प्रदान गरिनेछ।