काठमाडौं । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाइ हुने जनाएको छ ।
रिहाइ हुनेको नाम सार्वजनिक गरिएको छैन । कतारका अनुसार इजरायल र हमासबीचको युद्ध विराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दोहामा आयोजित पत्रकार सम्मेलनमा रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताए ।
‘विशुद्ध मानवीयताको आधारमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको हो । उनीहरुलाई जतिसक्दो छिटो सुरक्षित रूपमा बाहिर निकाल्नु छ’, उनले भने,‘एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिनेछ ।’ उनले रिहाइ हुनेको नामावली तयार गरिरहेको बताए ।
डेढ महिना लामो युद्ध अस्थायी रूपमा रोक्दै एकअर्काले बन्धक बनाएकाहरूलाई रिहा गर्न इजरायल र हमासबीच सहमति भएको हो ।