एजेन्सी । सन् २०२३ मा अमेरिकी कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ ।
ओपेक बाहिर भएको रेकर्डतोड उत्पादनका कारण आपूर्ती बढ्ने भयका कारण यस वर्ष अमेरिकी कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।
सन् २०२० यता वार्षिक रुपमा तेलको मूल्य घटेको यो पहिलोपटक हो ।
यस वर्ष डब्लुटीआई को मूल्यमा १०.७३ प्रतिशत र ब्रेन्ट क्रुडको मूल्यमा १०.३२ प्रतिशतको गिरावट आएको छ । यस वर्षको अन्तिम कारोबार दिन डब्लुटीआई क्रुड ०.१७ प्रतिशतले घट्दै प्रति ब्यारेल ७१.६५ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट क्रुड पनि ०.१४ प्रतिशतले घट्दै प्रतिब्यारेल ७७.०४ डलर पुगेको छ ।
गत सेप्टेम्बर महिनामा यस वर्षकै उच्च बिन्दु प्रतिब्यारेल ९० डलर पुगेको अमेरिकी तेलको मूल्य त्यसयता २० प्रतिशतले घटेको छ । यो वर्ष तेलको मूल्यमा व्यापक उतारचढाव आयो ।
गैर ओपेक राष्ट्रहरुले तेलको उत्पादन बढाएसँगै यस वर्ष तेलको मूल्य बढाउने ओपेक प्लस समूहको प्रयास विफल भएको छ । यस वर्ष अमेरिकाले रेकर्डतोड उत्पादन गरेको छ । यसका साथै ब्राजिल,नर्वे र क्यानडाले पनि उत्पादन वृद्धि गरेका छन् ।