काठमाडौं । शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंलबारदेखि शुरु भएको प्रतियोगिता बिहीबार सम्पन भएको हो । प्रतियोगितामा शारदा १ स्थित शिवजन मावि प्रथम भएको छ ।
१७ स्वर्ण, १५ रजत र ८ कास्यसहित शिवजन मावि प्रथम हुन सफल भएको हो । प्रतियोगितामा शारदा २ स्थित त्रिजमावि लुहापिङ ११ स्वर्ण, ९ रजत र १० कास्यसहित दोस्रो भएको छ । त्यस्तै शारदा ४ स्थित मेहन्द्र रत्न मावि पिपलनेटा ८ स्वर्ण, ६ रजत र ५ कास्यसहित तेस्रो भएको छ ।
प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १ कास्यसहित शारदा १२ स्थित शिव मावि मूलडाँडा सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र ६ हजार नगद, प्रमाणपत्र, ट्रफि प्रदान गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विदामा स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी विद्यालय, उत्कृष्ठ खेलाडी र रेफ्रिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिजमावि लुहापिङ आयोजक विद्यालयको रुपमा रहेको थियो ।
प्रतियोगितामा भलिवलतर्फ छात्र छात्रा, कवड्डीतर्फ छात्र, छात्रा, एथ्लेटिकसतर्फ छात्र, छात्रा र मार्सल आर्ट अन्तरर्गत कराते र तेक्वान्दो खेलमा १५ वटा सामुदायिक र संस्थागत विद्यालयका छात्र, छात्रा सहभागी रहेका थिए ।
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको प्रमुख आथित्य तथा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नविन कार्की, सशस्त्र प्रहरी नायव निरीक्षक सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सन्जिव चौधरी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, खेलकुदसँग सम्बन्धी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, खेल प्रशिक्षक, विद्यालयका प्रधानाध्यापक, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, खेलाडी, विद्यार्थीहरु र स्थानीय तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालको स्वागत मन्तव्य रहेको समापन कार्यक्रममा वडाअध्यक्षहरुको तर्फबाट वडा नम्बर १५ का वडाअध्यक्ष लोकमान बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले गरेका थिए ।